इटहरीः सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ४ शिव चोकमा निर्माण हुन लागेको कोसी रिफ्रेसमेन्ट सेन्टरको हिजो बुधबार शिलान्यास गरिएको छ ।
प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको कोसी रिफ्रेसमेन्टको मुख्यमन्त्री शेरधन राई, प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैत र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ सम्भावना नै सम्भावनाले भरिपुर्ण भएको बताएका छन् । उनले ती सम्भावनाहरुलाई समुचीत तरिकारले विकास गर्न प्रदेश सरकार लागिरहेको बताएका छन् ।
उनले कोसी रिफ्रेसमेन्ट सेन्टरलाई सानो अवधारणका साथ सुरु गरेको तर अहिले यसलाई वृहत परियोजनाका साथ अगाडि बढाएको जानकारी दिए । यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोसी रिफ्रेसमेन्ट सेन्टरको प्रभाव कोसी गाउँपालिकासँगै प्रदेश १ का सम्पूर्णमा पर्ने बताए । साथै उनले यसको प्रभाव प्रदेशको आर्थिक उपार्जन, रोजगारी सिर्जना र प्रदेशको सेवा प्रवाहमा पनि देखिने बताए । उनले यो परियोजना बहुआयामिक भएको प्रतिक्रिया दिए । २०७५ सालमा यो परियोजनाको आवश्यकता महसुस गरेर प्रदेश सरकारले अवधारण अगाडि सारेको थियो । दुई वर्षपछि सेन्टरको बुधबार भव्य समारोहका बीच शिलान्यास गरिएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा समिति तयार गरेर यसलाई छुट्टै परियोजनाको रुपमा विस्तार गरिएको थियो ।
कोसी रिफ्रेसमेन्ट सेन्टरको आफ्नै परियोजना कार्यालय पनि प्रदेश सरकारले स्थापना गरेको छ । सोही कार्यालयबाट यहाँको निर्माण र प्रवद्र्धन हुने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको अहिलेसम्मकै ठूलो परियोजनाको रुपमा हेरिएको यो परियोजनाको डिपिआर तयार गर्न कूल लागत दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई अर्बमध्ये पहिलो चरणमा परियोजनामा ४२ करोडको ठेक्का लगाएको र त्यो ठेक्का घटेर अहिले २७ करोड रहेको परियोजनाले जनाएको छ । २७ करोडको प्रथम चरणको ठेक्कामा सेन्टरको प्रशासनिक भवन, प्रहरी बिट, रेस्टुरेन्ट, प्राथमिक उपचार सेवा सहितको हेल्थ पोस्ट, आधुनिक प्रविधिसहितको सार्वजनिक शौचालय, पेट्रोल पम्प, इलेक्ट्रिक सवारीको चार्जीङ पोइन्ट, जग्गा अधिग्रण गर्ने साथै अन्य काम हुने परियोजनाले जनाएको छ । सेन्टर निर्माणको ठेक्का कविन्द्र नव सिर्जनशील जेभीलाई दिइएको छ ।