इटहरीः धनकुटामा उत्पादित अलैँचीको मूल्यमा वृद्धि भएपछि किसानलाई फाइदा पुगेको छ ।

कोरोना महामारीका कारण उत्पादन निर्यात गर्न नसक्दा गिरावट आएको अलैँचीको मूल्य निर्यातको वातावरण तयार भएसँगै केही वृद्धि भएको हो । हाल धनकुटामा अलैँची प्रतिमन २५ हजार रुपैयाँमा बिक्री भइरहेको छ । लकडाउनका कारण प्रतिमन २० हजारमा झरेको अलैँची भाउ उकालो लागेपछि निराश बनेका किसानमा खुसी छाएको छ ।

अलैँची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङका अनुसार जिल्लाको दुई सय ४० हेक्टर क्षेत्रफलमा अलैँची खेति हुने गरेको छ । करिब ६ सय किसान अलैँची खेतिमा संलग्न रहेको उनको भनाइ छ । मसलाजन्य बाली अलैँची नेपालको एक प्रमुख नगदे बालीका रुपमा रहेको छ ।