इटहरीः खुर्शीद आलम हत्याकाण्डको विषय अझैसम्म रहस्यको गर्भमै रहेको छ । गत असोज ४ गते खुर्शीदको हत्या गर्ने भारतीय अपराधीहरू पत्ता लाग्न सकेका छैनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल प्रहरीले छुट्टाछुट्टै समिति गठन गरेर अनुसन्धान गरिरहेका भए पनि हत्यारा फेला पार्न सकेका छैनन् ।

सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा दिउँसै आलमको हत्या भएको थियो । हत्यालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपराधीको खोजी कार्य तीव्र पारेको बताएको थियो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख राजन अधिकारीका अनुसार अनुसन्धान प्रक्रिया चलिरहेकाले अहिल्यै हतारमा केही भन्न सक्ने अवस्थामा प्रहरी छैन । नेपाल प्रहरी र अनुसन्धान ब्युरोको विशेष टोलीले आआफ्नो तरिकाले अनुसन्धान भइरहेकाले अपराधी पत्ता लाग्ने उनको भनाइ छ ।
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले आलमको घरमै आएर कुनै पनि हालतमा हत्यारा पत्ता लाग्ने बताएका थिए ।

khursid-kusi-1
गृहमन्त्रीको भनाइ र प्रशासनको अनुसन्धानको तरिकाले हत्यारा पत्ता लाग्न सक्ने कुनै आधार देखिँदैन । आलमको हत्या भएको स्थानदेखि भारतीय भूमि पुग्न २० किलोमिटर दुरी पार गर्नुपर्छ । त्यस बीचमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ३ वटा प्रहरी बिट छन् । त्यतिमात्र होइन सीमाक्षेत्र नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल पनि तैनाथ देखिन्छ । तर पनि भारतीय अपराधीहरू निर्बाध रूपमा नेपालमा प्रवेश गरी नेपालीमाथि ज्यादती गरिरहेका छन् ।

यस विषयमा नेपाल सरकारले भारत सरकारसमक्ष अपराधी पत्ता लगाउने कुनै प्रक्रिया अगाडि बढाएको छैन । प्रशासनको फितलो अनुसन्धानको कारण अपराधी पत्ता लाग्नेमा शङ्का गर्छन् नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता महम्मद मुक्तर आलम । अहिले पनि सिमानामा रहेको प्रशासनको मिलेमतो रहने गरेको उनको भनाइ छ । बारम्बार मुस्लिममाथि हुने हमलाले नेपालमा मुस्लिमको अस्तित्वमाथि धावा बोल्न खोजिएको उनी बताउँछन् ।

42167248-2475773302649411-8926763429344051200-n-1

खुर्शीद मुम्बइ बम बिस्फोटमा संलग्न भएको भनी भारतीय पक्षले हत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो । उनी मुस्लिम दस्ता मर्काकाजु इस्ला स्टेटका केन्द्रीय सदस्य थिए । उनी मुस्लिम धर्मको नाममाअपराधी संरक्षण गर्ने गिरोह रहेकोले उनको हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । यस भन्दा अगाडी पनि तत्कालीन इस्लामिक सङ्घ नेपालका महासचिव फैजान अहम्मद, मिर्जा दिलसाद बेग लगायतका मुस्लिम धर्मका नेताहरूको हत्या भएको थियो ।
विगतका घटनाको विषयमा पनि प्रहरीले प्रारम्भिक अनुमानकै भरमा प्रतिवेदन बुझाएका कारण खुर्शीदको हत्या पनि सोहीअनुसारको बनाउन खोजिएको मुस्लिम नेताजाकीर हुसेनको भनाइ छ । आफूले प्रधानमन्त्रीदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसम्मलाई भेटेर घटनाको विषयमा जानकरी गराएका कारण पीडित परिवारले न्याय पाउनुपर्ने उनी बताउँछन् ।
भुटाहावासी मुस्लिमहरू यस घटनाले असुरक्षित महसुस हुन थालेको बताउँछन् । स्थानीय सकिलखानकाअनुसार खुर्शीद आलमको हत्यापछि सिङ्गो गाउँ नै त्रासमा छ । प्रत्येक वर्ष हुने यस्ता खालका घटनाले सिङ्गो नेपालमा मुस्लिम समुदाय खतरामा रहेको उनको भनाइ छ ।
भारतले नेपालका नेताहरूमाथि बोलवाला कायम राखेको र सत्तासँगको प्रत्यक्ष प्रभावका कारण हत्यारा पत्ता लाग्न सक्नेमा शङ्का देखिएको उनी बताउँछन् ।