इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ पचरुखी निवासी जमुना चौधरी रहेक दिन बिहानै भक्का बेच्न पचरुखी चौक आउँछिन् ।
बिहान ५ बजे उनी भक्कालाई चाहिने पिठो, भाँडा, चुलो, दाउरा र अचार लिएर त्यहाँ पुग्छिन् । चिसो मौसममा अत्याधिक कारोबार हुने भक्काले नै उनको र उनको परिवारको गुजारा चल्दै आएको छ । उनले मौसमको माग रहेकाले भक्काको कारोबार सन्तोषजनक रहेको जानकारी दिइन् । ‘म बिहान ५ बजे यहाँ आइपुग्छु । दिनभरजस्तो नै म यहाँ भक्का बेच्छु । आजभोलि त झन् चिसो बढेको छ । भक्का पनि बढी नै बिक्रि हुन्छ पहिलेको भन्दा । जे होस् भक्का बेचेर नै हाम्रो परिवारको लागि आवश्यक खर्च जुट्दै आएको छ’, उनले भनिन् ।
२ सन्तानकी आमा उनी जाडो मौसममा भक्का र अन्य मौसममा फलफूल बेच्ने गर्छिन् । करिब बिहान ९ बजेतिर हामीले उनलाई त्यहाँ भक्का बच्दै गरेको देख्यौँ । ग्राहक बनेर गएका हामीले उनलाई अनौपचारिक रुपमै प्रश्न गर्यौँ । उनले हाम्रो प्रत्येक प्रश्नमा मन्द मुस्कानसहित जवाफ दिन्थिन् । प्रश्न गर्दगर्दा हामीले उनलाई एक दिनमा कति कमाउनुहुन्छ भन्यौँ । उनले मुस्कानसहित `परिवार चलेकै छ` भनिन् । कुरा खोतल्दै जाँदा उनले प्रतिदिनको आय भनिन् । ‘एउटा भक्का १० रुपैयाँमा बिक्रि हुन्छ । म एक दिनमा १५ सयदेखि दुई हजार सम्मको भक्का बेच्छु । यसले हाम्रो परिवार मज्जाले नै चलेको छ’, उनले भनिन् । लागत एकदमै न्यून भएकाले यसबाट उचित फाइदा लिन सकिने उनको भनाइ छ ।