इलामः इलामका किसान अकबरे खेती तर्फ केन्द्रित भएका छन् ।
नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका छन् । अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएको बताउँछन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा खेती सकिने र कम मिहिनेत पर्नाले पनि किसान उत्प्रेरित बनेका हुन् । गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष रोगले सखाप परेको इलाम नगरपालिकाका किसान डिल्ली चापागाईं बताउँछन् । गएको वर्ष अकबरेबाट डेढ लाख कमाइ भएकोमा यस वर्ष ५० हजार मात्र हुने चापागाईंको अनुमान छ ।
“डाँठ कालो भएर कुइने रोगले सबै सखाप पारेको छ”, चापागाईंले भने “बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।” गएको वर्ष एक हजार बिरुवा लगाएकोमा करिब डेढ(दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईंको भनाइ छ । समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने चापागाईंको अनुभव छ । अकबरेको माग गर्मी मौसममा भन्दा चिसोमा बढी हुन्छ । यो पुस र माघमा अकबरेका माग उच्च हुन्छ । किसानले पनि यही मौसममा अकबरेबाट प्रशस्त आम्दानी लिनुपर्ने हुन्छ । पछिल्लो समय विदेशबाट पनि अकबरेको माग आएकाले अकबरे नबिक्ला भनेर डराउनु पर्दैन । यो वर्ष किसानको घरघरबाटै रु ४८० देखि ५०० प्रतिकिलोका दरले अकबरे बिक्री भइरहेको छ ।
सूर्योदय नगरपालिका–१२ आठघरेका किसान मदन राईले यो वर्ष प्रतिकिलो ६०० का दरले पनि अकबरे बिक्री गरे । सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग स्थानीय बजारदेखि विदेशमा समेत रहेको बताए । राईले यो वर्ष २०० किलो अकबरे हङकङ पठाएको जानकारी दिए । उनले भने “भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।” राईसँग दानाअर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो र आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहेका छन् ।
अकबरेमा रोगको सङ्क्रमण
प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ । ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग हो । अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो । यसबाट अकबरे बचाउनका लागि माटो परीक्षण गर्नुपर्ने, प्राङ्गरिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरक–फरक खेती लगाइरहनुपर्ने हुन्छ । कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रोजन खड्काका अनुसार यो रोग बीउ र मोटो दुवैबाट लाग्न सक्छ ।
अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याक्दा पनि नियन्त्रण हुन सक्छ । अकबरे फल दिने समयमा छिर्के हुने, पहेँलो रङको देखिने लक्षण देखिने कृषि विशेषज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । यो रोगबाट अकबरे बचाउन गाईको दूधमा(आधा लिटर)मा पानी (चार लिटर) हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने विशेषज्ञ श्रेष्ठको भनाइ छ । इलामको पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले १५५ हेक्टर क्षेत्रफलमा अकबरे खेती गर्दै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । -रासस