झापाः भण्डारण गरिराखेको अवस्थामा भारी मात्रामा विष्फोटक पदार्थ र लागू औषधसहित पक्राउ परेका दुई जनाविरुद्ध प्रहरीले तीन वटा मुद्दा दर्ता गरी कारवाही अघि बढाउने भएको छ ।
पक्राउ परेकाहरूलाई झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । मेचीनगर– ६ का ३८ वर्षीय विशाल लिम्बू र मेचीनगर–८ का ३२ वर्षीय अनुप उरावलाई सार्वजनिक गर्दै लागूऔषध, विष्फोटक पदार्थ र हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरिने बताइएको हो ।
सोमबार साँझ ६ बजे मेचीनगर–६ मा भारतीय नम्बर प्लेटको डब्लु वि १७÷४ जेड ७००१ नम्बरको बोलेरो जाँच गर्ने क्रममा १ सय एमएलको इसकुफ लेखिएको लागूऔषध दुई बोतल र नाइट्रोजन १० लेखिएको लागूऔषध १२ चक्की फेला परेको थियो ।
लिम्बू सोही गाडीका चालक हुन् । दुवैलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी काँकरभिट्टा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । लिम्बूको कोठामा अन्य गैरकानुनी वस्तु हुन सक्ने अशङ्कामा प्रहरीले खानतलासी गर्दा भारी मात्रामा विष्फोटक पदार्थ फेला पारेको थियो ।
प्रहरीले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा जनाएअनुसार चरेस १ किलो ५ सय ग्राम, लागूऔषध १ सय एमएलको इसकुफ लेखिएको लागूऔषधका दुई खाली बोतल, विष्फोटक पदार्थको लोला ९ थान फेला परेको थियो ।
त्यस्तै, विष्फोटक पदार्थ पडकाउने फ्युज केप तारसहित डिटोनेटर ४० थान, नक्कली पिस्तोल १ थान, सानो पेस्तोलमा फिट हुने फलामको म्यागजिन सक्कली १ थान बारुद, मोबाइल सेट २ थान, कड्लेस फोन १ थान फेला पारेका थियो ।
नक्कली सुनको जस्तो देखिने औंठी १ थान, नक्कली सुन जस्तो देखिने घडीको चेन १ थान, सेनाले बोक्ने किसिमको कमब्याक झोला २ थान पनि प्रहरीले फेला पारेको जनाएको छ ।
सङ्घीय लिम्बुवान राज्य परिषद् लेखिएको सम्मान पत्र, प्रशिक्षण पत्र, सोही परिषद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न नक्कली छाप र पञ्चिङ मेसिन पनि प्रहरीले फेला पारेको जनाएको छ । बाला सुब्बा र सीताराम आङ्देम्बेको नामबाट बनाएको नागरिकता २ थान, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नाममा भएको सवारी चालक अनुमतिपत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।