इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

सत्ताधारी दल नेकपाभित्र जारी आन्तरिक विवादका बीच आफू नेतृत्वको सरकारमाथि संकट आउन सक्ने आँकलन गरी संसद अधिवेशन अन्त्य गराएका पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि अविश्वासको प्रस्तावका साथै राष्ट्रपति भण्डारीउपर महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाई संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्दै सम्भावित खतरा टार्ने प्रयास गरेका हुन् ।

मन्त्रिपरिषद बैठक सम्पन्न भएलगत्तै प्रस्ताव लिएर राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री ओलीबाट प्रस्ताव ग्रहण गरी राष्ट्रपति भण्डारीले आज दिउँसो सो प्रस्ताव अनुमोदन गरेपछि संसद विघटन भएको हो । संसद विघटन गर्नुका साथै राष्ट्रपति भण्डारीले नयाँ प्रतिनिधिसभा निर्वाचनको मितिसमेत घोषणा गरेकी छन् । आगामी वैशाख १७ र २७ गते पहिलो र दोस्रो गरी दुई चरणमा प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्नेगरी मिति तय भएको छ ।

संसद विघटन गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’

rastrapati vigyapti.