इटहरीः संसद विघटनको विरोधमा संघीय सरकारका सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता हुनसक्ने संकेत पाएपछि त्यसबाट बच्न आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरी संसद विघटनसम्बन्धि प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गरेकोमा सो प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भई संसद विघटन भएपछि सरकारमा सहभागी माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) पक्षका मन्त्रीहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा दिने मन्त्रीहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेल, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन, (अनन्त), कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भुसाल, सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर रहेका छन् । संसद विघटनको कार्य गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत र राजनीतिक मूल्य र स्थीरताको प्रतिकूल रहेको बताउँदै उनीहरुले यस कदमप्रति असहमति प्रकट गर्न राजीनामा गरेको बताएका छन् ।