इलामः नौ वर्षअघि इलाम नगरपालिकाले बनाएको शीतभण्डार प्रयोग बिहिन भएको छ ।

छ करोड खर्चेर बनाएको शीतभण्डार प्रयोगविहिन भएको हो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको थियो । भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म प्रयोगमा आएको छैन । भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक बिजुलीको महसुल तिर्नुपर्ने बाध्यता छ ।

इलाम नगरपालिका–९ मा रहेको शीतभण्डारको क्षमता दुई हजार टनको छ । शीतभण्डार प्रयोगमा नआउँदा भवन लड्ने अवस्थामा पुगेको छ । भवन प्रयोगमा ल्याउन नगरले केही प्रयास पनि गरेकै हो । ठेक्काका लागि सूचना निकालियो तर ठेक्का लागेन । त्यही कारण अहिले भवन प्रयोगविहीन छ । नगरका बासिन्दाले बाहिरबाट तरकारी आयात गर्छन् । “हामीले ठेक्कामा लगाउन धेरै पटक सूचना निकाल्यौँ तर कोही आएन”, नगरका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामकुमार साहले भने ‘ “किसानले राख्ने आँट गरेनन्, बिग्रिन्छ कि भनेर डराए ।” शीतभण्डार बनाए पनि प्रयोग नहुँदा लागत रकम नाश भएको छ भने भवन बिग्रिने अवस्थामा पुगेको छ । नगरले दूरदर्शिता अपनाउन नसक्दा शीतभण्डार प्रयोगमा आउन नसकेको सरोकारवालाहरु बताउँछन ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिङ्गल च्याम्बर’को भएकाले पनि शीतभण्डार सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । फरकफरक जातका कृषिजन्य उत्पादन भण्डारण गर्न फरकफरक नै तापक्रम आवश्यक पर्दछ । फरकफरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायतका कृषिजन्य उत्पादन राख्न सक्ने गरी ‘मल्टि च्याम्बर’ बनाउनु पर्ने भए पनि हचुवाका भरमा शीतभण्डारको निर्माण गरिएकाले समस्या भएको कतिपयको आरोप छ । -रासस