इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा हिजो संघीय संसदको प्रतिनिधिसभा भंग गरेपछि त्यसबाट उत्पन्न परिस्थितिमाथि छलफल र आगामी रणनीति तय गर्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आज आफूनिकट पूर्वसांसदहरुको भेला आयोजना गरेका छन् ।
बिहान ९ बजेदेखि सुरु भएको भेला हालसम्म जारी छ । भेलामा प्रधानमन्त्री ओली पक्षका पूर्वसांसदहरुको उपस्थिति रहेको छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र कामचलाउ सरकारका अर्थमन्त्री विष्णु पौडेलका साथै पूर्वमाओवादी तर्फका पूर्वसांसद लेखराज भट्ट समेतको उपस्थिति रहेको सो भेलामा पुष्पकमल दाहाल (प्रचण्ड) को साथ छोडेर केपी शर्मा ओलीकै कित्तामा उभिएका कामचलाउ सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) भने अनुपस्थित रहेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा गरी संघीय संसदको दुवै सदनका सांसदहरु भेलामा सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने प्रस्तावबाट असन्तुष्ट बनेका प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीहरुले हिजो सरकारबाट सामूहिक राजीनामा गरेका थिए । तर पूर्वमाओवादी तर्फबाट नै सरकारमा सहभागी भएका गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टले भने हालसम्म राजीनामा दिएका छैनन् । उता, प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा आफ्ना समर्थक पूर्वसांसदहरुको भेला आयोजना गर्ने भएको छ ।