इटहरीः नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को माधव नेपाल तथा पुष्पकमल दाहाल (प्रचण्ड) खेमाले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमका विरुद्ध देशभर संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले संघीय राजधानी काठमांडौमा भोलिदेखि दैनिक रुपमा विरोध प्रदर्शन गर्नुका साथै पुस १४ गते देशव्यापी रुपमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेकोे छ । यसअघि पुस १० गते बिहान ९ः३० बजे माइतीघर मण्डलामा आफूनिकट सबै सांसद तथा केन्द्रीय सदस्य समेतको सहभागीतामा भेला सम्पन्न गरी १२ बजे निर्वाचन आयोगको कार्यालयमा समेत भेला हुने बताइएको छ । पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने, २० गतेभित्र नगर तथा गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने दाहाल नेपाल पक्षको तयारी छ ।

१४ गतेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन समितिले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई हजार पाँच सय एक सदस्यीय आन्दोलन परिचालन समितिसमेत गठन गरेको छ । यता, नेपाली कांग्रेसले पनि संसद विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनको तयारी गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका सबै एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।