इटहरीः प्रदेश १ को मोरङ जिल्लामा रहेको केराबारी गाउँपालिकाको वडा नम्बर ५ मा पुल बन्दा स्थानीयहरु खुसी भएका छन् ।
गाउँपालिकाको सम्पूर्ण लगानीमा ५ नम्बर वडामा रहेको हुरहुरे खोलामा पुल बनेपछि बर्षैाँदेखि स्थानीयले भोग्दै आएको सास्ति कम भएको हो । गाउँपालिकाले २०७५ माघ ५ गते पुल बनाउन ठेक्का लगाएको थियो । केराबारी गाउँपालिकाबाट धनकुटाको ओखे्र जोड्ने हुरहुरे खोलामा २१ दशमलव ७० मिटर लामो पुल बनेको हो । खोलामा पुल बनेपछि यहाँका स्थानीयले उत्पादन गरेको कृषिजन्य उपजलाई बजारसम्म पुर्याउन पनि सहज हुन थालेको छ । हिँउदको समयमा खोलामा पुल नबन्दा आवतजावतमा कुनै समस्या नभए पनि बर्खा याममा खोलाले स्थानीयवासी, शिक्षक तथा विद्यार्थीहरुलाई समस्या पारेको थियो । सोही ठाउँका स्थानीय तथा शिक्षक हर्कमान राईले हुरहुरे खोलामा पुल नबन्दा धेरै गाह्रो हुने गरेको जानकारी दिए ।
उनका अनुसार अहिले पुल बन्दा यहाँ स–साना बालबालिकाहरु पनि आफै विद्यालय जान सक्ने भएका छन् । गाउँपालिकाको एकल लगानीमा बनेको यो पुल २ वर्षमा नै निर्माण सम्पन्न भएको थियो । अर्का स्थानीय तथा शिक्षक पृथ्वीनारायण कट्टेलले यो खोलामा पुल नबन्दा पुलभन्दा माथिल्ला बस्तीहरुमा मानिस बिरामी पर्दा उपचारको लागि अस्पतालसम्म पुर्याउन समस्या हुने गरेको जानकारी दिए । साथै उनले यहाँ उत्पादन भएका सामानहरु पनि बजारसम्म पुर्याउन सहज भएको बताए । स्थानीयहरुलाई आवतजावतमै समस्या हुने भएकाले यहाँका जनप्रतिनिधिहरुको ध्यान नै यही खोलाको पुल निर्माणमा थियो । गाउँपालिकाको ५ नम्बर वडाका वडाध्यक्ष राम राईले आफूहरु निर्वाचित भएपछि पहिलो प्राथामिकता नै पुललाई दिएको जानकारी दिए ।
उनले यो वडाको वडा कार्यालय नै सो खोला तरेर जानुपर्ने भएकाले पुल निर्माण गरिएको जानकारी दिए । साथै उनले केराबारी गाउँपालिकाको कार्यालयबाट वडा कार्यालयसम्म पुग्ने बाटो कालोपत्रे गर्ने काम पनि तिव्र रुपमा भइरहेको जानकारी दिए । हुरहुरे खोलामा गाउँपालिकाले पुल बनाउन दुई करोड ८१ लाख खर्च गरेको छ । अहिले पुलको दायाँबायाँ दुवैतर्फ पर्खाल लगाउने काम हुँदैछ । पहिला मोटरसाइकल मुस्किलले पुग्ने यो ठाउँमा पुल बनेपछि अटो तथा अन्य सवारीका साधनहरु सहज रुपमा आवातजावात हुन थालेका छन् ।