इटहरीः प्रदेश १ अन्तर्गत मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ ले नगर तथा वडाको समन्वयमा ६ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

स्थानीय सरकारको निर्वाचनपश्चात् आएको सरकारले बितेको ३ वर्षमा ६ किलोमिटर सडक कालोपत्रे गरेको हो । उपभोक्ताको जनश्रमदान र वडाको बजेटबाट यो वडामा नयाँ बाटोको ट्रयाक खोल्ने काम पनि धमाधम भइरहेको छ । सडक कालोपत्रेसँगै पेवल्स लगाउने काम पनि वडाले गरिरहेको वडाध्यक्ष रोसनप्रसाद ढकालले जानकारी दिए । उनले कालोपत्रेको तुलनमा नयाँ बाटो बनाउने काम कमिरहेको जनाकारी दिए । आफ्नो कार्यकालमा वडामा १० देखि १२ किलोमिटर सडक कालोपत्रे गर्ने संकल्प गरेको ढकालको भनाइ छ । विराटचौकबाट दक्षिणमा रहेको यो वडामा भौतिक विकासलाई बढी ग्राह्यता दिइएको छ ।

वडाध्यक्ष ढकालले वडाको समतामुलक विकासको लागि टोल विकास समितिहरुसँग नियमित अन्तरक्रिया गर्दै आएको जानकारी दिए । टोल विकास समितिहरुसँग नियमित अन्तरक्रिया गर्दा जनताको वास्तविक समस्या थाहा हुने र त्यसलाई निराकरण गर्न सहज हुने उनको विश्वास छ । यो वडामा यो आर्थिक वर्षमा मात्र २ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसमा सांसद विकास कोष, नगरपालिका र वडा कार्यालयको समन्वय रहेको छ । धमाधम सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय पनि खुसी भएका छन् । वर्षौँदेखि सडक नबन्दा सास्ति भोग्दै आएका यहाँका स्थानीयले स्थानीय सरकार आएपछि विकासले गति लिएको बताउँछन् । यस्तै सो वडाको मिरमिरे खोलामा पुल बनेपछि यहाँका स्थानीय झनै खुसी भएका छन् । वर्षा याममा खोला तर्न मात्र नभएर यो वडाका बिरामीलाई अस्पताल पुर्याउन पनि पुल नहुँदा समस्या हुने गरेको थियो ।

वडा कार्यालयले धेरै ठाउँमा बजेट छुट्याएर काम गर्दा कुनै पनि ठाउँको योजना पूर्ण रुपमा सम्पन्न नहुने भएकाले अत्यावश्यक ठाउँमा आवश्यक बजेट विनियोजन गर्ने प्रणाली अवलम्बन गरेको वडाध्यक्ष ढकालको भनाइ छ । उनले अब डेढ वर्ष आफ्नो कार्यकाल रहेको र त्यो बेलासम्म नगरका अरु वडाको तुलनामा बढी विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरका छन् ।