इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा नेपाली कांग्रेसद्वारा असंवैधानिक तवरबाट सरकारले गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध प्रदर्शन भएको छ ।

कांग्रेस समर्थित नेता कार्यकर्ताहरुको उपस्थितिमा विराटनगरमा भएको प्रदर्शनको नेतृत्व कांग्रेस नेता डा.शेखर कोइरालाले गरेका छन् । आज देशभरका एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार विराटनगरमा विरोध र्याली आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको सिफारिस तथा राष्ट्रपतिबाट भएको संसद भंग गर्ने घोषणालाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादोन्मुख कदमको संज्ञा दिएको छ ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन संसद विघटन भएको घोषणा गरेकी थिइन् ।