इटहरीः संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव नेपाल पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनमा देशभरका नेकपा समर्थितहरुले संसद असंवैधानिक कदम सच्याउँदै विघटित संसद पुनस्र्थापनका लागि सरकारलाई दबाब दिने बताइएको छ । संघीय राजधानी काठमांडौमा मात्र ५० हजार कार्यकर्ता परिचालन गरी टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शाल लगायतका विभिन्न ठाउँमा एकैसाथ प्रदर्शन गर्ने दाहाल(नेपाल पक्षीय नेकपाको तयारी रहेको छ । रत्नपार्कबाट निस्कने जुलुसमा मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट निकालिने जुलुसमा युवाहरुको सहभागिता रहनेछ । अन्त्यमा सबै ठाउँका प्रदर्शनकारी एकीकृत भई भृकुटीमण्डपमा कोणसभा आयोजना गर्ने तयारी भएको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । उनका अनुसार कोणसभालाई प्रदर्शनका अगुवा नेताहरुले सम्बोधन गर्नेछन् ।

संसद विघटनको निर्णय भएयता विभिन्न राजनीतिक दलका साथै, विद्यार्थी, नागरिक समाज, मानवाधिकारवादी लगायतका बौद्धिक व्यक्तित्वहरुले समेत यस कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादोन्मुख भन्दै यसविरुद्ध सडक प्रदर्शन गरिरहेका छन् । हिजो मात्र विघटित संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसले देशभरका एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघनको निर्णयबाट रुष्ट बनेको नेकपाको दाहाल(नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाई माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएसँगै पार्टी फुटको संघारमा पुगेको छ । दुवै पक्षले आफ्नै नेतृत्वको पार्टीलाई आधिकारिक दाबी गर्दै आएको छ । यससम्बन्धी अन्तिम निर्णय निर्वाचन आयोगले दिनेछ ।

निर्वाचन आयोगको निर्णयबाट सन्तुष्ट नभए दुवै पक्ष सर्वोच्च अदालत जान सक्नेछन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघीय संसदको प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सो सिफारिसलाई सोही दिन राष्ट्रपति भण्डारीले स्वीकृत गरेपछि संसद विघटन भएको थियो ।