इटहरीः कञ्चनपुरमा २०७५ साउन ११ गते भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको घटनामा अभिभावकले घटना हुनुपूर्व बालिकाको खोजीका लागि प्रहरीलाई आग्रह गरेकोमा खोजी कार्यमा तदारुकता नदेखाएको आरोप लागेका सो जिल्लाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टलाई पुनर्वहाली गरिने भएको छ ।
पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीको लापरबाही मुख्य कारक रहेको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले उपरीक्षक बिष्टलाई २०७५ को मंसिरमा भविष्यमा सरकारी सेवामा प्रवेश गर्न अयोग्य नठहर्ने गरी प्रहरी सेवाबाट बर्खास्त गरेको थियो । उनीसँगै प्रहरी निरीक्षक जगदीश भट्ट तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायबउपरीक्षक अङ्गुर जीसीसमेत सेवाबाट हटाइएका थिए । नायबउपरीक्षक जीसी भने यसअघि नै पुनर्वहाल भइसकेका छन् । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उपरीक्षक बिष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।
सो घटनाको प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको भनी जिल्ला अदालत कञ्चनपुरमा दायर भएको मुद्दाको सुनुवाइका क्रममा उनको संलग्नता पुष्टि नभएपछि अदालतले बिष्टलाई सफाइ दिएको थियो । घटनामा संलग्न व्यक्तिहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । बलात्कारपछि हत्याजस्तो जघन्य अपराधको घटनामा प्रहरीको अनुसन्धान हालसम्म निष्प्रभावी देखिएको छ ।