इटहरीः संङ्घीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको अधिवेशन भोलिदेखि सुरु हुने भएको छ ।
अधिवेशनलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानीका लागि आज राष्ट्रियसभाका सबै सदस्यको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने तयारी भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले बताए । अधिवेशन आह्वानको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै अध्यक्ष तिम्सिनाले स्वास्थ्य सावधानीका सबै मापदण्डको कडाइका साथ पालना गरिने बताए । भोलि सुरु हुने अधिवेशन छोटो समयका लागि आह्वान गरिएको उनको भनाइ छ ।
संंसदको तल्लो सदन प्रतिनिधिसभा विघटन भएकाले दुवै सदनमा छलफलपछि मात्र पारित हुने ऐनका मस्यौदाउपर छलफल गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले बिजनेस अभावमा छोटो समयमै अधिवेशन अन्त्य हुने जानकारी दिए । राष्ट्रियसभाका सबै सदस्यलाई स्वास्थ्य सावधानीपूर्वक अधिवेशनमा सहभागी हुन अध्यक्ष तिम्सिनाले अनुरोध गरेका छन् ।