इटहरीः मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि सो कार्य असंवैधानिक तथा अलोकतान्त्रिक भएको भन्दै देशव्यापी रुपमा विरोध भइरहेको छ ।

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव नेपाल समूहले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध अमर्यादित नाराबाजी गरेको भन्दै सो कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै आज गृहमन्त्री रामबहादुर थापा (बादल) लाई ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल महिला संघले गृहमन्त्री थापालाई भेटी ज्ञापनपत्र बुझाएको हो । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

संघले सामाजिक सञ्जाल, भेला, जुलुस, प्रदर्शनलगायत विभिन्न माध्यमबाट राष्ट्रपतिविरुद्ध अशिष्ट अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्न माग गरेको छ । गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिविरुद्ध अमर्यादित नाराबाजी गर्ने कार्यप्रति सरकारको ध्यानाकर्षण भएको बताए । साथै उनले त्यस कार्यमा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको बताए । ज्ञापनपत्र बुझाउन पुगेकी अखिल नेपाल महिला संघकी नेतृ शर्मिला कार्कीले सरकारले कारबाही नगरे आफूहरुले कानूनी उपचार खोज्ने स्पष्ट पारिन् ।