लहानः भारतीय सीमानाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७र७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले भारतीय सीमानाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा चार करोड ८९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ । चालु आव २०७७र७८ मा छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिए ।
भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ । अघिल्लो आव २०७६र७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको थियो । -रासस