मनाङः चिसो र हिमपातका कारण हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ ।

चिसो बढेसँगै जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ । हिमपातमा मानिस जसोतसो घरभित्र रहे पनि पशुचौपायलाई पाल्न मुस्किल भएको पशुपालक किसान चोल्पा गुरुङले बताए ।

उनका अनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम पनि रोकिएका छन् । बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै निर्माण सम्पन्न भएको छैन । -रासस