विराटनगरः दक्षिण कोरियाले नेपाली विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने भएको छ ।

कोरिया सरकारले आफ्नो देशमा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको हो । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि जाने प्रवासी श्रमिकलाई दिने भिसा ९प्रवेषाज्ञा० हो । कोरियामा विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको कोरियाको श्रम मन्त्रालयलाई उद्यृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए ।

रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम सुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया जाने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष दस महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ ।

प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा कोरियाको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रूपमा निर्णय गरी लागू गर्ने छन् । हाल इपिएसमार्फत इ–९ भिसामा गएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा गएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् ।

त्यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ । -रासस