इटहरीः लोक सेवा आयोगले निजामती सेवाको रिक्त रहेको नायब सुब्बा पदको आठ सय ४३ स्थानमा पदपूर्तिका लागि विज्ञापन सार्वजनिक गरेको छ ।

सातै प्रदेशमा रहेको रिक्तता पूर्ति गर्न आठ सय ४३ जना नायब सुब्बाको दरबन्दीमा नियुक्तिका लागि विज्ञापन गरिएको लोक सेवा आयोगले जनाएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद घिमिरेका अनुसार रिक्त पदमध्ये चार सय ११ स्थानमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएको छ भने चार सय ३२ जना वरिष्ठता र कार्यसम्पादन क्षमताका आधारमा उत्कृष्ठ ठहर भई भढुवा प्राप्त गरी नियुक्त हुनेछन् । विज्ञापनको म्याद माघ २० गतेसम्म रहेको छ । यद्यपी, माघ २७ गतेसम्म पनि दोब्बर दस्तुर बुझाई आवेदकले आवेदन दिन पाउनेछन् ।

आवेदन फारम अनलाइनमार्फत् भर्न सक्ने व्यवस्था मिलाइएको छ । आवेदन फारम खुलाएपनि आयोगले परीक्षाको मिति भने सार्वजनिक गरेको छैन । परीक्षा मिति पछि प्रकाशन गरिने विज्ञापनमा उल्लेख छ ।