इटहरीः परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणका लागि आज भारतको संघीय राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकमा सहभागी हुन ज्ञवाली आज त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा दुई देशबीचको आपसी सम्बन्ध, व्यापार, पारवहन, उर्जा, सीमा,पूर्वाधार विकास, कृषि, पर्यटन, सँस्कृति, कोभिड महामारी रोकथामको सहकार्य, लगानीलगायत विवध पक्षबारे छलफल हुनेछ । भ्रमणका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले भारतको उच्च नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा मन्त्री ज्ञवालीका साथै भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव तथा सरकारका अन्य उच्च पदस्थ कर्मचारीको सहभागिता रहने मन्त्रालयको भनाइ छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई आफ्नो क्षेत्र दाबी गर्दै भारतीय नक्सामा समावेस गरेपछि नेपाल सरकारले पनि प्रतिवादस्वरुप कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरेयता दुवै देशबीच सम्बन्ध चिसिएको अवस्था र सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण संघीय संसदको प्रतिनिधिसभा भंग गरिएको अवस्थामा हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेका मन्त्री ज्ञवाली माघ ३ गते अर्थात् जनवरी १६ का दिन स्वदेश फर्कने भएका छन् ।