इटहरीः राष्ट्रिय खाद्य बैंक लिमिटेडले सुनसरीको धरानमा कृषिसम्बन्धी साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

खाद्य बैंकले धरानमा रहेका कृषकको गुनासे र बैंकले गर्ने कामको विषयमा साक्षात्कार कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिले यो नेपालकै पहिलो र एकमात्र खाद्य बैंक भएको बताए । उनले दुई अर्ब पुँजीबाट खाद्य बैंकको सुरुवात गरेको जानकारी दिए । नेपालका विभिन्न ठाउँमा भएका उर्वर भूमिहरु हाल निस्क्रिय अवस्थामा रहेका र ती ठाउँमा पुनः खोति सुरु गर्दै आर्थिक उपार्जनका लागि सहयोग गर्ने बैंकको उद्देश्य रहेको उनले जानकारी दिए । उनले इजरायलमा २ प्रतिशत मानिसले कृषि पेसा अंगालेको तर कुल ग्राहस्थ उत्पादनमा ६० प्रतिशतभन्दा धेरै योगदान गरेको स्मरण गराउँदै नेपालमा ८० प्रतिशतले कृषिलाई मुख्य पेसा बनाउँदा पनि कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ मात्र योगदान पुर्याउनु दुःखद भएको बताए ।

सोही कार्यक्रममा बोल्दै धरानका समाजसेवी लोकेन्द्र फागो लिम्बूले नेपाल कृषिप्रधान देश भएपनि विषादियुक्त विदेशी खाद्यान्न आयात गरेर खानुपर्ने बाध्यता रहेको बताए । उनले अब नेपालमा नै उत्पादन भएको अर्गानिक खाद्यान्न घरघरमा पुर्याउन खाद्य बैंकले भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले कृषकको समस्या हल नहुने बताए । सहभागीहरुले अन्य संस्थाहरुले पनि यस्ता कार्यक्रम गर्दै आएको तर लामो समयसम्म कार्यक्रम नचल्दा कृषकलाई मार परेको गुनासो गरे । साथै उनीहरुले वास्तविक किसानको समस्याहरुलाई हल गर्दै स्वदेशी उत्पादनमा बंैकले जोड दिनुपर्ने माग गरे ।