चितवनः भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ ।

कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । भरतपुर महानगरपालिकाले हालसम्म २५ करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । असार मसान्तसम्ममा ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिस्ट्रेसन सेवा शुल्कसमेत छ । गतवर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताउँछन् । महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ । अर्यालले भने, ‘हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व सङ्कलनसमेत गर्न थालेका छौँ ।’

महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पु¥याउने लक्ष्यका साथ अभियान थालिएको छ । महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहेकी उपप्रमुख पार्वती साह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउँछिन् । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यो वर्ष हामीले दर बढाएका छैनौँ दायरा बढाउने काममा लागि परेका छौँ ।’ सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताइन् । सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व सङ्कलनमा सहयोग पु¥याउनुपर्ने उनको धारणा छ । महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउँछिन् ।

महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उनले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गरिन् । आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिइन् । चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असुलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उनले जानकारी दिइन् । करदातामैत्री प्रणाली विकासमार्फत् करको लक्ष्य हासिल गर्न सकिने दाहाल बताउँछिन् ।

 चालु आव २०७७र०७८ का लागि कूल राजस्व तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक स्रोततर्फ ९० करोड अनुमान गरिएको छ । उनका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्यरूपमा घर बहाल करतर्फ आठ करोड, नक्सा पास दस्तुरतर्फ सात करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ चार करोड, व्यवसाय दस्तुरतर्फ छ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ सात करोड, अन्य क्षेत्र आय ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा छ करोड ८० लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएको छ । भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुस अगाडि बुझाएको पाइन्छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ । जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । स्थानीय तहले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ । -रासस