इटहरीः सोलुखुम्बुमा राजस्व संकलनमा गिरावट आएको छ ।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार पर्यटकको उपस्थिति न्यून हुँदा जिल्लाको राजस्व असुलीमा गिरावट आएको हो । गत वर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड रुपैयाँको राजस्व असुली भएकोमा यस वर्ष ३८.७० प्रतिशतले गिरावट आई राजस्व असुली १५ करोड ९३ लाख ६० हजार ५ सय ३५ रुपैयाँमा झरेको कार्यालयका सूचना अधिकारी नवीन राईको भनाइ छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले सबैभन्दा बढी १४ करोड ४ लाख ५५ हजार रुपैयाँ राजस्व असुली गरेको बताउँदै राईले जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले १५ लाख ४ हजार, जिल्ला अदालतले २६ लाख ५ हजार १ सय ९, जिल्ला प्रशासन कार्यालयले १८ लाख ३५ हजार र करदाता कार्यालय लुक्लाले ७८ लाख ३७ हजार रुपैयाँ असुली गरेको बताए ।

जिल्लाको पर्यटन रोयल्टिमा पनि यस वर्ष व्यापक गिरावट आएको छ । गत वर्ष ७ करोड ३७ लाख ५० हजार ५ सय ७१ रुपैयाँ रहेको पर्यटन रोयल्टि यस वर्ष १५ लाख ९८ हजार २ रुपैयाँमा सिमित भएको छ ।