इटहरीः गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छः मन्त्री ज्ञवाली 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घााटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्दार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै, भने, ‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।’ ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुसी व्यक्त गरे । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।

उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गरे । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मेहनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य रहेको उनको भनाइ थियो । राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनुपर्ने उनले बताए । विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशनमा महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनुपर्ने धारणा राखे । अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिए । विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए ।

उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमितिप्रति विशेष धन्यवाद व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि साथै आउने बताए । उनले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाइराख्न सबैलाई आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको हितको लागि एकताबद्ध हुन आग्रह गरे । उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउनुपर्ने बताए ।

भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए । कार्यक्रममा शुभकानमा मन्तव्य दिँदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिक रुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नुपर्नेमा जोड दिए । महाधिवेशनमा संघका सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए । भर्चुअल रुपमै दुई दिनसम्म चल्ने संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन संघका महासचिव डा. हेमराज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए ।