इटहरीः संघीय संसदको प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै संसद पुनस्र्थापनाको माग गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव पक्षले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । नयाँ कार्यक्रम अनुसार माघ १३ गते सिट्ठी जुलुस, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रियसभा सदस्य र विघटित प्रतिनिधिसभाका सांसद र प्रदेशसभाका सदस्यहरुसहितको दैनिक धर्नाको आयोजना हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ । समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार माघ १६ गते सहिद दिवसका दिन सहिदलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रदर्शनसमेत गरिने भएको छ । यसैगरी, माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभाको आयोजनाका साथै देशैभर विरोधसभा तथा प्रदर्शनलाई तिव्र बनाइने सहसंयोजक भुसालको भनाइ छ ।

उनका अनुसार माघ २२ गते काठमाडौँमा युवा ¥याली, माघ २६ गते देशव्यापी मसाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन गरी संसद विघटनप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीको योजना छ । निर्वाचन आयोगले नेकपाको विधान अनुसार पार्टी विभाजन हुन नसक्ने भएको भन्दै दुवै समूहको छुट्टाछुट्टै निर्णयलाई मान्यता दिन इन्कार गरी पुरानै संरचना यथावत रहने निर्णय गरेको पृष्ठभूमिमा दाहाल नेपाल समूहले आन्दोलनका कार्यक्रम थप गरेको हो ।