खोटाङः भूकम्पमा परेका खोटाङका निजी घर पूननिर्माणको काम ७५ प्रतिशत सकिएको छ ।

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकिएको हो । नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनःनिर्माणसम्बन्धी जिल्लास्तरीय कार्यक्रममा प्राधिकरणले ७५ प्रतिशत काम सकिएको तथ्याङ्क सार्वजनिक गरेको हो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त नौ हजार ३१० लाभग्राहीमध्ये सात हजार ३९८ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ ।

पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनःनिर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए । -रासस