इटहरीः सरकारले असंवैधानिक प्रकृयाबाट संघीय संसद्को प्रतिनिधिसभा भंग गरेको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आज माइतिघर मण्डलामा धर्ना दिएको छ ।
असंवैधानिक तथा प्रतिगामी कदमविरुद्धको आन्दोलनका रुपमा आज सुरु गरिएको धर्ना आगामी २१ गतेसम्म चल्ने नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले बताइन् । उनका अनुसार संविधान, सङ्घीयता, गणतन्त्र र जनमतको रक्षाका निम्ति आवाज उठाउन यो धर्ना कार्यक्रम आयोजना गरिएको हो ।
धर्ना कार्यक्रम दैनिक दुई घण्टा चल्ने भुसालले जानकारी दिइन् । आज आयोजित धर्नामा प्रचण्ड माधव समूहमा आबद्ध विघटित प्रतिनिधिसभाका सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुको सहाभागिता रहेको थियो ।