इटहरीः नेपाल सरकारको गत माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक भएको छ ।

आज सार्वजनिक गरिएका निर्णयहरुमा राजनीतिक रुपान्तरणका लागि भएका आन्दोलनमा सहादत प्राप्त गर्ने तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र प्रदान गर्न प्रस्ताव पेस गर्ने कार्यादेश दिई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्ने र वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय रहेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताए ।

उनका अनुसार गत माघ ५ गतेको बैठकले अर्थमन्त्रालयको प्रस्तावमा नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोभिड १९ विरुद्धको खोप भण्डारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकेको स्थान डिजाइन र लागत अनुमान अनुसारको बजेट भित्र रही केन्द्रमा एक र सबै प्रदेशमा एक÷एकवटा गरी जम्मा ८ वटा भण्डारण गृह खरिद प्रक्रिया बाहेक दुई महिना भित्र निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिने लगायतका निर्णय गरेको छ ।