चितवनः कोरोना महामारीले देशको अर्थतन्त्र धमिलिएपछि देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् ।

कोरोनाका कारण सीमानाका बन्द भएर भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ ।

चित्रकारले भने, ‘४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋणमात्रै बाँकी रहेको उनले गुनासो गरे । इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । चित्रकारले भने, ‘यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।’ उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ । भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उनी बताउँछन् । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउँछन् । महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउँछन् ।

मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए । ‘कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्,’ उनले भने । नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार आठ सय इँटा उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उनले भने, ‘जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।’ उद्योग सञ्चालन गर्न दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउँछन् ।

पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् । चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुईवटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउँछन् । उनले चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गरे । उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उनले मजदुरका समस्या समाधान र पुनःसञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताए । पण्डितले भने, ‘सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय सङ्कटमा पर्छ ।’ स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताए ।

विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए । नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो । महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी एक सय ६० वटा उद्योग छन् । -रासस