काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अंग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सरकारका नवनियुक्त उपसचिवका लागि आयोजना गरेको एकहप्ते अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उनले संघीय नीति, ऐन, कानुनअन्तर्गत नै प्रदेश र स्थानीय तहका नीति, ऐन, कानुन निर्माण हुने भएकाले सोहीअनुसार काम गर्नुपर्नेमा कुनै भ्रम नराख्न आग्रह गरे । समृद्ध नेपाल निर्माणका लागि काम गर्न निर्देशन दिँदै कानुनी पालनामा ध्यान दिन उनले आग्रह गरे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले निजामती प्रशासन सञ्चालनका लागि कर्मचारीहरुमा ज्ञानको अभाव नरहे पनि त्यसको प्रयोगका सन्दर्भमा देखिएका खाडललाई चिरेर जनताको सेवामा समर्पित हुन आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले कर्मचारीतन्त्रको गरिमा राख्ने गरी नयाँ परिवेशअनुसार काम गर्नुपर्ने बताए । प्रतिष्ठानका उपकार्यकारी निर्देशक नारायणगोपाल मलेगोले सार्वजनिक क्षेत्रको क्षमता विकासमा प्रतिष्ठानले अग्रणी भूमिका खेल्दै आएको बताए । निजामती सेवामा हालै ६४ उपसचिवको नियुक्ति भएको छ । -रासस