कास्कीः विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका–२७, तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमि २८० मिटर सडक एक अर्ब ६० करोड ५० लाख रुपैयाँ लागतमा स्तरोन्नति गरी विश्व बैंकको मापदण्डअनुसारको नमुना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)का बारेमा छलफल आयोजना गरेर डीपीआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने जनाएको छ । सो सडकको दायाँ–बायाँ साइकल ट्रयाक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इन्जिनियर नवराज बोहोराले जानकारी दिए । उनका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको बनाइने छ ।

महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले प्रतिकिमि लागतका हिसाबले सो सडक यहाँ बनेका सडकमध्येमा सबैभन्दा महँगोे रहेको बताए । आगामी दुई महिनाभित्रमा बोलपत्र आह्वानलगायतका सबै प्रक्रिया सुरु गरेर यसै आर्थिक वर्षभित्र निर्माण सुरु गर्ने योजना रहेको इन्जिनियर काफ्लेले जानकारी दिए । आगामी दुई वर्षभित्रमा सडक निर्माण गरिसक्ने योजना छ । विश्व बैंकको मापदण्डअनुसार रहेकाले लागत बढी भएको बताइन्छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले वर्षौँदेखिको सपना पूरा हुन लागेको र सडक महानगरको नमुना र गौरवको सडक बन्ने बताए । सडक निर्माणपछि बेगनास ताल क्षेत्रको पर्यटकीय सम्भावनासमेत बढेर जाने बताउँदै उनले लामो समयको प्रयासपछि विश्व बैंकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको उल्लेख गरे । सडक विस्तार गर्ने क्रममा खानेपानी, विद्युत् र टेलिफोन स्थानान्तरणको कार्यमा सम्बन्धित कार्यालयले महानगरको सरसल्लाहमा मात्र गर्नुपर्ने प्रमुख जिसीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, सहरी शासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरिया, महानगरका सहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारीलगायतले महानगरको नमुना सडकलाई छिटो सम्पन्न गर्न सबैबाट सहयोगको आवश्यकता रहेकामा जोड दिएका थिए । महानगरपालिकाले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर, प्रदेश सरकार तथा डिभिजन सडक कार्यालयको संयुक्त लगानीमा अहिले पोखराको २५ किमि सहरी सडक ‘अस्फाल्ट’ कोलोपत्रको काम भइरहेको छ । -रासस