विराटनगरः विराटनगर महानगरपालिकाले एकैसाथ तीन आकाशेपुल निर्माण गर्ने भएको छ ।

विराटनगरमा सवारी साधनको चाप बढ्न थालेपछि दुई करोड ३९ लाख लागतमा महानगरपालिले आकाशेपुल निर्माण गर्न लागेको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताए । आकाशेपुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिए ।

विराटनगरको कञ्चनबारी चोकमा ७८ लाख, बरगाछी चोकमा ६८ लाख र भट्टीचोकमा ९३ लाख रुपैयाँ लागतमा सो पुल निर्माण गर्न लागेको उनले बताए । ६ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामको बताइएको छ । तीनवटै पुलको केही दिनमै शिलान्यास भई चालू आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ । -रासस