ताप्लेजुङः विसं २०६४ मा स्थापना भएको फक्ताङलुङ गाउँपालिका–७ घुन्सास्थित धूपी तेल उद्योग १० वर्षदेखि बन्द अवस्थामा छ ।
दर्ता प्रक्रिया झन्झटिलो भएकाले तीन वर्ष चलेर बन्द भएको उद्योग सञ्चालक पेमा शेर्पाले बताए । सो उद्योगबाट हिमाली क्षेत्रमा पाइने धूपीलाई प्रशोधन गरेर तेल उत्पादन गर्ने लक्ष्य लिइएको थियो । उद्योग दर्ता प्रक्रियाको लागि घरेलु तथा साना उद्योग कार्यालयमा आश्यक कागजातसमेत बुझाइएको सञ्चालक शेर्पाले बताए । तर कार्यालयले प्राविधिकलाई अवलोकन गर्न जाँदा लाग्ने सबै खर्च उद्योग सञ्चलकले गर्नुपर्ने भनेपछि आफूहरूसँग प्राविधिकलाई दिने पैसा नभएका कारण प्रक्रिया अघि बढ्न नसकेको उद्योग सञ्चालक शेर्पाले बताए । फुङलिङबाट उद्योग भएको स्थान घुन्सा पुगेर फर्किन कम्तीमा सात दिन पैदल हिँड्नुपर्छ । उनका अनुसार विपन्न तथा आर्थिक अवस्था कमजोर १३ व्यक्तिले धूपी सङ्कलन गर्न अनुमति पाएका थिए ।
सङ्कलित धूपी प्रतिकिलो सात रुपैयाँमा उद्योगले खरिद गर्दै आएको थियो । धूपी सङ्कलन गरेबापत प्रतिकिलो एक रुपैयाँ सामुदायिक वनको कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको थियो । उद्योगमा उत्पादन भएको धूपी तेल बिक्रीका लागि काठमाडौँसम्म लानुपर्ने शेर्पाले बताए । काठमाडौँमा एक लिटर तेलको तीन हजार पाँच सयमा बिक्री हुने शेर्पाले जानकारी दिए । धूपी तेल विभिन्न सुगन्धका लागि सेन्ट, मालिस तेल, विभिन्न अगरबत्तीमा प्रयोग हुने गर्दछ । धूपीको तेलको माग विभिन्न देशबाट पनि आउने गरेको शेर्पाले बताए । स्थानीयको आयआर्जन गर्ने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षले २०६४ सालमा उद्योग स्थापनाका लागि आश्यक सामग्री समूहलाई हस्तान्तरण गरेको थियो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जीतेन चेम्जोङले उद्योग सञ्चालन गर्न आवश्यक उपकरण निःशुल्क उपलब्ध गराएर पनि दर्ता गरेर सञ्चालन गर्न नसक्नु सञ्चालकको कमजोरी भएको बताए । घरेलु कार्यालयका सूचाना अधिकारी निजा भट्टराईले केही वर्षअगाडि उद्योगको अवलोकन गर्न जाँदा उद्योग सञ्चालकले खर्च गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘तर अहिले उद्योग अवलोकन र प्राविधिक खर्च उद्योग कार्यालयले गर्दछ ।’ -रासस