इटहरीः सुनसरीको इटहरीमा रहेको विशाल बजारमा केही समयअगाडि ग्राहकलाई आकर्षित गर्न भन्दै छाता राखिएको थियो ।
कोरोना महामारीपछि ग्राहकको आगमनमा कमी भएकाले आकर्षण बढाउन भन्दै राखिएका छाता अझै पनि छन् । छाताले ग्राहकलाई अकर्षित गरेपछि आइतबार पुनः विशाल बजारमा नेपाली राष्ट्रिय झण्डाले सजाइएको छ । अहिले प्रविधिको परिवर्तनसँगै आफूहरु पनि चल्नलाई झण्डा राखिएको व्यवसायी दिवस पोखरेलले जानकारी दिए । योभन्दा पहिले राखिएको छाताले पनि ग्राहकको आकर्षण बढेको र अब झण्डाले त्यो आकर्षणलाई अझै बढाएर लैजाने उनको भनाइ छ ।
‘हामीले कोरोना महामारीपछि बजारमा ग्राहकलाई आकर्षित गर्न पहिला छाता राखेका थियौँ । जसले यहाँ आउने ग्राहकको संख्यामा वृद्धि भएको थियो । सामान किन्ने मात्र नभएर यहाँ प्रचारप्रसारमा पनि मद्दत पुगेको थियो । अहिले पुनः केही फरक गरौँ भनेर हामी व्यवसायीले छलफल गर्याैँ । सबैले राष्ट्रिय झण्डा राख्ने मत राख्नुभयो र हामीले यहाँ अहिले सामाजिक सञ्जाल फेसबुर र टिकटकमा भिडियो बनाउनेलाई लक्षित गरेर झण्डा राखेका छौँ’, उनले भने ।
यसले पहिलेको भन्दा ग्राहकको संख्यामा वृद्धि हुने उनको भनाइ छ । अर्की व्यवसायी सुनिता तिवारी हुमागाईले कोरोना महामारीले पारेको प्रभावलाई भुलेर मनोरञ्जनसँगै ग्राहकको आर्कषण बढाउन झण्डा राखिएको जानकारी दिइन् । विशेषगरी युवाहरुलाई लक्षित गरेर झण्डा राखिएको उनको भनाइ छ । ‘कोरोनाले धेरैलाई प्रभाव पारेको छ । यहाँ आएर यो दृश्य देख्दा उहाँहरुको मन पनि खुसी हुन्छ । साथै यहाँ आउने ग्राहकको संख्या पनि बढ्छ । यसले आर्थिक उपार्जनको लागि हामीलाई पनि सहयोग हुन्छ । विशेषगरी युवाहरुलाई लक्षित गरेर हामीले झण्डा राखेका हौँ’, उनले भनिन् । आइतबार झण्डा राखेसँगै बजारमा टिकटक बनाउने को घँुइचो बढेको छ । यसले मनोरञ्जन गर्न सहयोग पुर्याएको यहाँ आउने ग्राहकहरु बताउँछन् ।