चौताराः नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनः सुचारु भएको छ ।

भोटेकोसी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो । नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीनवटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ संक्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ । चीनबाट अब व्यापारीले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।

भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक–दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ । आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोसाक, जुत्ता, चप्पल, मास्क तथा जलद्यिुत् आयोजनाका मेसिनरी सामान रहेको बताइएको छ । -रासस