काठमाडौँः निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ ।

यतीले आन्तरिक उडानमा थप नयाँ एटीआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान संख्या बढाउने भएको हो । यतीको एटीआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौं आइपुग्नेछ । योसहित यतीसँग छथान एटीआर जहाज हुनेछन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागु गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटीआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो । आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटीआर जहाज उडाउनेछ । थपिएको एटीआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ । जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रणय दिवसमा विशेष अफर
प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ । पर्वतीय उडानमा जाने यात्रीलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ । टिकट भने पुरानै मूल्य अथात आठ हजार ८४८ रुपैयाँ तोकिएको छ । अफरअन्तर्गत पर्वतीय उडानका यात्रीलाई प्रेम उपहारका साथै आठ जीबी डेटा तथा एक हजार रुपैयाँ क्यास बराबरको स्मार्ट टेलिकमको सिमकार्ड दिइनेछ ।

पोखरा–सिमरा उडान गरिने
आन्तरिक उडानमा बजार विस्तारको रणनीतिका साथ अघि बढेको यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने भएको छ । व्यापारिक तथा पर्यटकीय गन्तव्यमा उडान विस्तारको योजना बनाएको यतीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ । पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालासँग यतीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहितका पदाधिकारीले यसै साताभित्र अन्तिम छलफल गरी उडान निर्णय लिइने कम्पनीले जनाएको छ । यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्दै आएको भए पनि कोभिड महामारीका कारण अहिले उडान स्थगित गरिएको छ । उक्त उडान पनि छिट्टै सञ्चालन गरिने जनाइएको छ । यतीले हाल १४ गन्तव्यमा उडान भर्दै आएको छ । कोभिड महामारीकैबीच गत असोज ५ देखि आन्तरिक उडान सुरु भएको थियो । यसअघि, भदौ १६ बाटै अन्तर्राष्ट्रिय उडान भएको थियो । -रासस