इलामः यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो ।
गत पुसको पहिलो साताबाट निर्माण सुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०/५० प्रतिशत खर्चमा बन्ने भवनको कूल लागत रु १२ लाख ३८ हजार हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुने क्षेत्र हो । किसानलाई सर्वसुलभ मूल्यमा धान बेच्नका लागि भण्डारण गृह आवश्यक परेको हो । यहाँका किसानले झापा र मोरङमा धान बेच्छन् । ठूलो परिमाणमा एकैपटक बेच्दा बढी मूल्य पर्नाले भण्डारण गृह आवश्यक परेको उपभोक्ता समिति चुलाचुलीका संयोजक त्रिलोचन गौतमले बताए । सहकारीमार्फत यहाँका किसानले धान बिक्री गर्छन् । भण्डारण गृह निर्माणपछि धान केलाउन र गे्रडिङ गर्न सहज हुने गौतमले जानकारी दिए ।
भण्डारण गृह एकतले र तीनकोठे हुनेछ । झापा र मोरङका विभिन्न स्थान लगेर यहाँका किसानले धान बेच्ने गरेका छन् । धानमात्र होइन भण्डारण गृहमार्फत धान पेलेर चामल बेच्ने प्रबन्ध पनि मिलाउँदै गरेको संयोजक गौतमको भनाइ छ । इलामकै अन्न खानी भनेर चिनिने यो क्षेत्र झापा जिल्लाको सीमावर्ती जिल्ला हो । तराईको फाँट भएकाले पनि यहाँका ९५ प्रतिशत किसानले धानखेती गर्छन् । इलामको तल्लो भेग भएकाले जिल्लास्थित ज्ञान केन्द्रमार्फत पाउने सुविधा नपाउने गरेको यहाँका किसानको गुनासो छ तर पछिल्लो समय केन्द्रकै अगुवाइमा यस्ता काम हुन थालेपछि किसान केही सकारात्मक देखिन थालेका छन् । गएको वर्ष पनि ज्ञान केन्द्रले यहाँका किसानलाई धान बोक्ने ट्र्याक्टर वितरण गरेको थियो । “धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ”, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।” -रासस