भरतपुरः कोरोनाका कारण सुस्ताएको भरतपुर विमानस्थलको आन्तरिक उडान अंग्रेजी नयाँ वर्षसँगै उत्साहजनक रूपमा बढेको छ ।

सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्यांकानुसार गत जनवरी महिनामा मौसमले कयौँ उडान रद्द हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सका २०५ वटा उडान र अवतरण भएका छन् । सो अवधिमा छ हजार ४७१ यात्रु भित्रिएका थिए भने छ हजार ७२२ यात्रु बाहिरिएका थिए । यस अवधिमा भरतपुर विमानस्थलबाट १३ हजार १९३ ले सेवा लिएका छन् । डिसेम्बरमा १४ हजार ८८९ यात्रुले सेवा लिएका थिए । जनवरीमा हवाई यात्रुको संख्या कम हुनुमा मौसमको खराबीले कयौँ दिनसम्म उडान रद्द हुनु मुख्य कारण रहेको भरतपुर विमानस्थलले जनाएको छ । 

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मक रूपमा हवाई यात्रुको संख्या बढिरहेको बताए । उनले भने, ‘‘चितवनमा हवाई उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाई यात्रा थप सुरक्षित महसुस गरेका छन् ।’’ उनले कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकाले पनि हवाई यात्रु बढेको बताए । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एकैदिन राष्ट्रिय खेलाडी र कलाकार विमान चार्टर्ड गरेर क्रिकेट खेल्न आएका थिए । यस्ता गतिविधि बढ्दै गएमा झनै हवाई यात्रु बढ्ने प्रमुख कुँवरले जनाए । उनले कतिपय मानिसले मन्त्रालयमा एकैदिन काम सकेर फर्किन हतार भएकाले पनि हवाई यात्रा रोज्ने गरेको उल्लेख गरे । भरतपुर विमानस्थलका कम्प्युटर अपरेटर उचित पौडेलका अनुसार गत वर्ष सेप्टेम्बरमा जम्मा हवाई यात्रु एक हजार ७९६, अक्टोबरमा आठ हजार ५६० र नोभेम्बरमा यो संख्या बढेर ११ हजार ७८४ पुगेको थियो । मौसमको खराबीका कारण बेलाबेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्यांकले हवाई सेवा कम्पनीले राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले चितवनमा हवाई यात्रुको संख्या बढेर पुरानै अवस्थामा फर्कन लागेको बताए । उनले भने, ‘‘कोरोना महामारीअगाडिकै अवस्थामा भने पुगेको छैन । तर, यात्रुको संख्या उल्लेख्य रूपमा बढिरहेको छ ।’’ उनले अहिले भरतपुरमा छवटा बुद्ध एयरको उडान भइरहेको बताए । केही दिनअघि मात्र बुद्धले थप एक उडान भर्न सुरु गरेको हो । विभिन्न ठाउँमा भएका राजनीतिक दलका ठूला कार्यक्रमले पनि हवाई यात्रु बढेको उनले बताए । माघ महिनामा मौसमका कारणले केही उडान रद्द भएकाले र बढी चिसोको कारणले केही यात्रु कम भए पनि फागुन लागेपछि झनै बढ्ने बस्नेतको भनाइ छ । दुईवटा उडान गर्दै आएको यती एयरलाइन्सले अहिले भरतपुरमा उडान संख्या तीनवटा बनाएको छ । -रासस