खोटाङः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौंलाई नजिक बनाएको बताएका छन् ।
विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आएका अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकैदिनमा काठमाडौं आउजाउ गर्ने वातावरण बनेको बताए । उपाध्यक्ष प्रा. डा. कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । उनले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्रीका पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्ने गरी काम भइरहेको बताए । पत्रकार भेटघाट कार्यक्रममा नेकपा खोटाङका नेता देवविक्रम राईले खोटाङसँग सम्बन्धित सडक, पुल तथा विद्युत्को कामलाई द्रुत गति दिन आयोगका उपाध्यक्ष प्रा. डा. कँडेलको ध्यानाकर्षण गराए ।
जिल्लामा सञ्चालित अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन काम भइरहेको जानकारी गराउँदै नेता राईले यसप्रति कडाइ गर्न अनुरोध गरे । प्राविधिक टोलीसहित अनुगमनमा निस्किएका उपाध्यक्ष प्रा. डा. कँडेल बुधबार नै साँझ कालोपत्रको काम भइरहेको दिक्तेल–चखेवा सडक अवलोकन गर्दै छिमेकी जिल्ला भोजपुर गएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत रामेछापको दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल आएका उपाध्यक्ष प्रा. डा. कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ । -रासस