इटहरीः नेपाल सरकारका विभिन्न निकाय तथा विभागबाट एकै ठाउँमा एकैपटक काम गर्दा एक अर्काबीच समन्वय नहुँदा काममा ढिलासुस्ति मात्र होइन, आम सर्वसाधारणले सास्ति भोग्नुपरेको छ ।

यस्तै घटनाको उदाहरण बनेको छ सुनसरीको इटहरी । अहिले रानी–धरान ६ लेन सडकअन्तर्गत इटहरीमा सडक विस्तारको काम भइरहेको छ । यसले इटहरीका जनतालाई अन्य क्षेत्रजस्तै दुरसञ्चार प्रयोगमा समस्या भइरहेको छ । कारण हो, ६ लेन सडक परियोजनाले जथाभावी टेलिकमको तार काटिदिनु । सरकारी दुरसञ्चार प्रदायक नेपाल टेलिकम र ६ लेन परियोजनाबीच समन्वय नहुँदा नेपाल टेलिकमको सेवा लिने ग्राहक मारमा परेका हुन् । मोरङको सुदरहरैँचा नगरपालिकास्थित बाँसबारीका बाबुराम अधिकारीले नेपाल टेलिकमको इटहरीमा रहेको कार्यालय सेवाग्राहीको समस्याप्रति उदासिन भएको आरोप लगाए । यसले टेलिकमको इटहरीस्थित कार्यालयबाट सेवा लिने ग्राहकले सास्ति भोग्नुपरेको उनको भनाइ छ । ‘टेलिकम उदासिन देखिन्छ । टेलिकमले आफ्नो क्षमता अनुसार काम नै गर्न सकेको छैन । टेलिकमका कर्मचारीहरुले निजी सेवा प्रदायकबाट घुस लिने गरेकाले काममा ढिलासुस्ति हुने गरेको ओरोप लाग्ने गरेको छ बेला बेलामा ।

सायद त्यो यथार्थ पनि हुन सक्छ । इटहरीमा अहिले नेपाल टेलिकमका पाँच हजारभन्दा बढी टेलिफोनहरु बिग्रिएका छन् । यसलाई बनाउन टेलिकमले चासो नै देखाएको छैन । कार्यालयमा गएर बुझ्दा कर्मचारीहरु तार नै छैन भन्छन् । माथिबाट आएको त्यत्रो तार कहाँ गयो ? उनले भने । साथै उनले टेलिकमले आफ्नो काम नै गर्न नसकेको बताए । अहिले इटहरीको विराटनगरलाइन क्षेत्रमा टेलिकमको सेवा पूर्ण रुपमा नै बन्द भएको छ । यसलाई टेलिकमले पनि स्वीकार गरेको छ । इटहरीको ९ नम्बर वडाका स्थानीयवासी मन्दीप भट्टराईले गत दसैँयता नेपाल टेलिकमको सेवा अवरुद्ध भएको जानकारी दिए । उनले नेपालमा सम्पूर्ण काम अन्लाइन प्रणालीबाट हुने भएकाले यसले ठूलो क्षति पुर्याएको बताए । ‘यो नेपाल टेलिकमको उतापटी (इटहरीको विराटनगरलाइन) काम भइरहेकोले हाम्रोतिर लाइन पुरै डिष्टर्ब छ । हामीेले कार्यालयमा गएर भन्दा ‘हामी पछि क्षतिपूर्ति दिन्छौँ’ भन्छन् तर अहिलेसम्म दिएका छैनन् । इन्टरनेट बेस्ड कामहरु धेरै छन् । अहिले नेपालमा अन्लाइन कक्षाको कुरा भइरहेको छ । त्यस्तै सेयरको ट्रेण्ड पनि छ नेपालमा । यो समयमा टेलिकमको सेवा अवरुद्ध हुँदा हामीले विकल्प खोज्नुपर्ने बाध्यता भएको छ’, उनले भने ।

यता, टेलिकमले भने ६ लेन सडक परियोजनाले आफ्नो तारहरुमा क्षति पुर्याएकाले लाइन अवरुद्ध हुँदै आएको जानकारी दिएको छ । टेलिकमको इटहरी कार्यालयका प्रविधिक अधिकृत तेजनारायण चौधरीले सडक विस्तारको काम नभएसम्म इटहरीमा टेलिकमको सेवामा प्रभाव पर्ने जानकारी दिए । ‘वास्तविकता के हो भने जुन ६ लेन सडकको इटहरीमा काम भइरहेको छ, त्यो सिलसिलामा स्काभेटरले हाम्रो तारहरु, अण्डरग्राउण्ड केबलहरुमा जथाभावी क्षति पुर्याएको हुँदा पटक पटक हाम्रा लाइनहरु अवरुद्ध भइरहेका छन् । हामीले क्षेत्रबाट (हालको प्रदेश कार्यालयबाट) बोलाएर र यहाँका प्राविधिकहरुलाई परिचालन गरेर मर्मत सम्भार गर्ने कामहरु गरिरहेका छौँ । त्यही पनि सडक विस्तारको क्रम रोकिएको छैन । कतिपय ठाउँमा त हामीले सेवा नै सञ्चालन गर्न सकिरहेका छैनौँ । अनि कुनै ठाउँमा हामीले फाइबरबाट सेवा दिइरहेका छौँ । ६ लेन सडकको काम जति चाँडो सकियो, हामी त्यति चाँडो सेवाहरु निर्वाध रुपमा दिनेछौँ’, उनले भने । गत फागुन ६ गते नेपाल टेलिकम, ६ लेन सडक परियोजना र इटहरी उपमहानगरका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय सुनसरीमा त्रिपक्षीय छलफल भएको थियो । जहाँ ६ लेन सडक परियोजनाले कुनै ठाउँमा सडक विस्तारको काम गर्दा टेलिकमलाई जानकारी गराउने र टेलिकमले आफ्नो तार हटाउने सहमति भएको थियो । तर त्यो सहमति कागजमा मात्रै सिमित भएको टेलिकमका अधिकारीहरु बताउँछन् ।