इटहरीः गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् ।

आइतबार प्रणय दिवसको अबसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले यो पुस्तकको सँयुक्त बिमोचन गरे । कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविधालयमा भेटिएका पाँच जना नेपाली विधार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ । पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अबस्था यसले छर्लङ्ग पारेका बताए ।

गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्ययको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाई उनले सो कार्यक्रममा राखे । अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । समकालिन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने पनि उनले बताए । आख्यानकार डि. आर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको सँगतमा रही उनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् बर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए । यो पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतिय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए ।

यस्तै सँगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यासभन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए । पुस्तक पढ्दा आफुलाई एउटा सफल चलचित्र हेरेको महसुस उनले सुनाए । गायक तथा संगीतकार सागर सरद अधिकारीले कार्यक्रममा अतिथिलाई स्वागत गर्दै राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए । पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डि आर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए । घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए । प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।