पथरीः पुरानो रिसिबीलाई लिएर मोरङको पथरी–८ शुक्रबारेमा विजयादशमीको दिन राती १ जनाको हत्या भएको छ ।

स्थानीय १८ वर्षीय कृष्णबहादुर बिष्टले खुकुरी प्रहार गरेर स्थानीय २८ वर्षीय विजय खड्काको हत्या गरेको प्रहरीले जनाएको छ । खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । प्रहरी निरीक्षक कमल बजगाईका अनुसार खुकुरी प्रहारबाट खड्काको टाउको, अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

घटनाको बीज भने १६ वर्ष अघिको घटना
घटनाको बीज सुन्दा अपत्यारिलो जस्तै छ । पथरीमा १६ वर्ष अघि होली खेल्ने क्रममा १ जना व्यक्तिको हत्या भएको थियो । त्यही घटनामा चलाइएको कर्तव्य ज्यान मुद्दामा अदालतले बिष्टका बुवा अर्जुनकुमारलाई जेल सजाय सुनाएको थियो । जेल सजाय सुनाउँदा र सो घटना हुँदा बिष्ट २ वर्षका मात्रै थिए । पछि जेल सजाय भुक्तान गर्ने क्रममा बिष्टका बाबु अर्जुनकुमारको ७ वर्ष अघि मोरङ कारागारमै मृत्यु भएको थियो ।

सो घटनामा आफ्ना बाबु निर्दाेष भए पनि खड्का परिवारले बाबुलाई फसाएको भनी बिष्टले आफ्नी हजुरआमाबाट सुनेका थिए । घटनापछि बिष्ट र खड्का परिवारबीच राम्रो सम्बन्ध पनि नभएको छिमेकीको भनाइ छ । प्रहरीका अनुसार बिष्टकी हजुरआमाको पनि मृत्यु भइसकेको छ ।

घटनापछि लगत्तै पक्राउ परेका बिष्टले प्रहरीसमक्ष खड्काको हत्या आफूले गरेको स्वीकारेका छन् । संलग्न नै नभएको हत्याको घटनामा आफ्ना बाबुलाई फसाएर जेलमा पुर्याएको र जेलमै बाबुको मृत्यु भएको थाहा पाएर सोही घटनाको बदला लिएको बिष्टले प्रहरीसमक्ष बताएका छन् ।