ताप्लेजुङः ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ ।
पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’अन्तर्गत सो भत्ता वितरण गर्दै आएको हो । पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुुहुनो भएमा) दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीकाले बताए । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दुहुना गाईका लागि २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताए । एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि ३५ लाख बजेट विनियोजन गरेको पशु शाखा कार्यालयले जनाएको छ । विभिन्न दैवीप्रकोप र महामारी रोगबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरूको बिमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताए । जाँगरिला पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी सीताराम गौतमले बताए । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताए । ‘गाउँपालिकाले दिएको दुहुनो गाई प्रोत्साहन भत्ताले गाईका लागि दाना र नुन दिन पुगेको छ,’ उनले भने । प्रत्येक घरपरिवारमा उद्यमी बनेर आयआर्जन गर्नका लागि किसान प्रोत्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए । उनले भने, ‘अब गाउँपालिकाका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणका लागि सहजीकरण गर्ने योजनामा छौँ ।’
दुग्धजन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक ५० हजार रुपैयाँ भित्रिने गरेको पशु शाखाको तथ्याङ्क छ । कृषि क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहनका साथै बिमा कार्यक्रमले पशुपालक उत्साहित हुँदै गएको सिदिङ्वा गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेवेले बताए । गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पु¥याउने गरेको डेरी सञ्चालक राजेन्द्र कडरियाले बताए । माघ मसान्तसम्ममा सिदिङ्वा गाउँपालिकामा नौ सय ६७ वटा दुहुनो गाईबाट चार दशमलव पाँच मेट्रिक टन, सात सय ५८ वटा भैँसीबाट दुई मेट्रिक टन र एक सय ५० चौँरीबाट एक मेट्रिक टन दुग्ध पदार्थ प्रतिमहिना उत्पादन हुँदै आएको छ ।
गाउँपालिकाले पशुपालकलाई अनुदान र प्रोत्साहन दिन थालेसँगै गाउँपालिका दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुँदै गएको छ । अहिले सिदिङ्वा गाउँपालिकामा आठ वटा डेरी उद्योग दर्ता भएका छन् । दैनिक नौ हजार लिटर दुग्ध उत्पादन हुँदै आएको पशु शाखाको तथ्याङ्कमा उल्लेख छ । घिउ एक महिनामा पाँच सय केजी तथा सात सय ५० केजी छुर्पी उत्पादन हुँदै आएको छ । सिदिङ्वा गाउँपालिका–४ का वडाध्यक्ष नन्दलाल गौतमले दुहुनो गाई प्रोत्साहन, पशु बिमा साथै गोठ सुधार कार्यक्रमले कृषकमा उत्साह आएको बताए । ‘अहिले प्रत्येक घर परिवारमा पशुपालनबाट आयआर्जन भइरहेको छ, त्यसै अनुसार गाउँपालिकाले अनुदान पनि दिँदै आएको छ,’ उनले भने । -रासस