सोलुखुम्बः नेपाल टेलिकमले सोलुखुम्बुमा फोरजी सेवा पुनः सञ्चालनमा ल्याएको छ ।
हिमाली जिल्ला संखुवासभामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छवटा पुनःसञ्चालन भएको टेलिकम कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोसी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको जानकारी दिए । यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।
उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रुपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ । यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । यता ओखलढुङ्गा जिल्लामा पनि फोरजी सेवा सञ्चालन भएको छ । कूल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोरजी सेवा सञ्चालन भएको टेलिकमले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो ।
साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिङ्क मिलाउने काम भइरहेको पन्थीको भनाइ छ । हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सिसिएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटिईले सामग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोर जी प्रयोगकर्ता ३० लाख नाघेको टेलिकमले जनाएको छ । -रासस