इटहरीः आज फागुन ७ गते अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते तत्कालीन राजा त्रिभुवनको नेतृत्वमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ७० वर्ष पूरा भई आज ७१ औँ वर्ष प्रवेश गरेको छ ।
एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बीपी (विश्वेश्वरप्रसाद) कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशवासीका नाममा शुभकामना सन्देश दिएका छन् । मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीलगायत सबै वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शहीदका अधुरा सपना पूरा गर्ने प्रतिबद्धतासमेत मुख्यमन्त्री राईले सन्देशमा व्यक्त गरेका छन् । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा संघीय सरकारले पनि प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ ।