मोरङः जिल्ला सरकारी वकिल मोरङको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट प्रदेश १ को राजधानी विराटनगरमा बनेको भवनको उद्घाटन गरेका हुन् । तीन कठ्ठा क्षेत्रफलमा तीन करोड १४ लाख ८२ हजार चार सय २५ रुपैयाँ लागतमा निर्मित तीन तले भवनमा २३ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले जानकारी दिए ।

महान्यायाधिवक्ता खरेलले तीन वर्षमा देशभरिमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी दिए । उनले अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यले ठूलो लगानी गरेको बताए । जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने विचार व्यक्त गरेका छन् । -रासस