जाजरकोटः मौरी र सुन्तला ‘जोन’को सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातैवटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताए । नयाँ सिफारिस गरिएको सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएकोमध्येमा पर्दछ । यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापक रूपमा नागरिकको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो ।

सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरी काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुने गरेको छ । त्यस्तै, जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिक रूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ । -रासस